काठमाडौँ, १५ भदौ ।
नयाँ संविधानमा नेपाल हिन्दू राष्ट्र हुनेछ भनेर लेखिने ग्यारेन्टी नभएसम्मका लागि चारजना युवा सोमबारदेखि खुलामञ्चमा आमरण अनसनमा बसेका छन् ।
उनीहरुले विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको पुनरावृत्ति गराएरै छोड्ने अठोटका साथ आमरण अनसन सुरु गरेका हुन् । अनसन बस्नेमा झापा चारपानेका ४० वर्षीय खेमनाथ आचार्य, सुनसरी इटहरीका २९ वर्षीय सागर कट्वाल, चितवन भरतपुरका ४२ वर्षीय प्रेमनिधि भारद्धाज र कैलाली लम्कीका १९ वर्षीय कृष्णप्रसाद जोशी घोडासैनी रहेका छन् ।
विभिन्न धार्मिक संघसंस्थामा आवद्ध चार युवा ‘हिन्दू राष्ट नेपाल कायम गर,’ ‘धर्म परिर्वन दण्डनीय बनाइयोस्’ र ‘गौहत्या बन्द होस’ भन्ने माग राख्दै आमरण अनसनमा बसेका हुन् । उनीहरुले मागप्रति गम्भीर हुन सम्पूर्ण राजनीतिक दल, संविधान सभा, सरकार, राष्ट्रिय मानवअधिकार आयोग र विश्व समुदायलाई समेत आग्रह गरेका छन् ।
अनसनमा बसेका सागरले जस्तोसुकै परिस्थिति आइपरे पनि अनसन नतोड्ने बताए । ‘हिन्दू राष्टका लागि मुलुकभर नै आन्दोलन उग्र रुपमै भइरहेको छ तर सरकारले ९४ प्रतिशत ओमकार परिवारको आवाज सुनेन योभन्दा बिडम्बना अरु के हुनसक्ला ?’ उनले भने, ‘आमरण अनसन त्यो पनि हिन्दू राष्ट्र नहुञ्जेल बस्नुमा चुनौतिहरु दर्जनौं होलान् तर हामीले यो अन्तिम अस्त्रका रुपमा लिएका हौं ।’
हिंसा र विध्वंसको आवाजमात्र सुन्ने बानी परेको नेपाली राजनीतिक नेतृत्वले आजसम्मका शान्तिपूर्ण र निष्ठापूर्ण नैतिक दबाबलाई महसुससम्म नगरेको उनको गुनासो छ । भारद्धजले नेपाली माटोको मौलिक र सांस्कृतिक पहिचानको संरक्षणका लागि अनसनमा बस्नु परेको बताए ।
उनले भने, ‘वैधानिक भए आपत्ति हुन्थेन होला तर अवैधानिक ढंगबाट र अरुको प्रभाव र प्रलोभनमा परेर हिन्दू राष्टको पहिचान मेटाउन खोजिएकाले गम्भीर निर्णयमा पुग्नु परेको हो ।’ निरपेक्षता घोषणा गरेर सरकारले विश्वकै आस्थामा गहिरो चोट पुर्याएको भन्दै उनले अबका दिनमा प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरुको बुद्धि फर्कियोस् र जनमतको कदर हुने निर्णय गरुन् भनी अनसनमा बसेको बताए ।
उनले भने, ‘परिआए दुई दसक नपुगेका युवा पनि राष्ट्रका लागि आमरण अनसन बस्न सक्दारहेछन् र कठोर निर्णय गर्न सक्षम हुँदारहेछन् भन्ने नेताले बुझ्न जरुरी थियो जुन अब देखिएको छ ।’ आमरण अनसनको समर्थनका लागि पुगेका स्वामी पद्मधराचार्यले स्वस्फूर्त राष्ट्रियताले ओतप्रोत भएका युवाहरुको आमरण अनसनको निर्णय ठूलो जीत भएको बताए ।
ुजीवन एक दिन त मर्नु नै छ, मर्नकै लागि हो, मर्नैपर्छ भने राष्ट्रकै जीतका लागि किन नमर्ने ? उनले भने, ‘धर्म निरेक्षता घोषणा भएयता देशले पाँच पाँचवटा प्रधानमन्त्री फेर्यो होला तर अब त्यस्ता चार पाँचजना युवा पनि जन्मिएका छन् जसले पृथ्वीमा वेद र देव (सूर्य र चन्द्र) अनादिदेखि चलिआएको जुन हिन्दू धर्मसँग जोडिएको छ त्यसलाई कायम गराउन ज्यानको बाजी थापेर लागे ।’
उनले सोबारेको अनुसन्धान अझै गरिरहेकाले विज्ञानसम्मत उक्त कुरा जोगाउन युवा जाग्नु आफैंमा गौरवको कुरो भएको बताए । उनले थपे, ‘यहाँ एकजनामात्र अनसनकारी मर्यो भने हिन्दू राष्ट्रका लागि हजार होइन, करोडौं जनता जाग्नेछन् ।’
अर्का स्वामी दिनदयालले युवा देश जोगाउन आमरण अनसन बस्दैछन् भनेपछि यो राज्यले सोच्ने गम्भीर विषय भएको बताए । ‘धर्म र राष्ट्रका लागि जसले त्याग गरिरहेका छन् यसैलाई राष्ट्रियता भनिन्छ । यो काम अरु धेरैबाट पनि हुनेछ तर सुरुआत चार युवाले गरेका छन्,’ उनले भने, ‘आफ्नै धर्मका लागि आमरण अनसन गर्नु जति ठूलो तपस्या अरु के हो र ? स्वधर्मको यो ठूलो उदाहरण हो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
Powered by Blogger.
हिन्दू राष्ट्र नहुञ्जेल आमरण अनसन
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.