दोलखामा शीर्ष नेता: कोही आकाशबाट हेर्दै, कोही भग्नावशेष पन्छाउँदै
दोलखा-वैशाख
१२ को भूकम्पपछि केन्द्रीय तहका थुप्रै नेता जिल्लाको निरीक्षणमा आए। कोही
हवाई निरीक्षण गरेर आकाशबाटै फर्किए भने कोही प्रजिअलगायत जिल्लाका
सरोकारवालासँग अन्तरक्रिया गरेर हिँडे। केही नेताले भने भग्नावशेष
पन्छाउनुका साथै अस्थायी भवन निर्माणमा पनि सहभागिता जनाएका छन्।
भौतिक निर्माण तथा यातायातमन्त्री एवम् कांग्रेस नेता विमलेन्द्र निधी शुक्रबार चरिकोटस्थित एक घरको भग्नावशेष पन्छाउँदै थिए। बिहानै सदरमुकाम आइपुगेका उनले सदरमुकामको मुख्य सडकमा ढलेको घर सम्याएका हुन्। नेकपा–माओवादी नेता सिपी गजुरेल नेतृत्वको टोलीले देवी उच्चमावि, बोचको १० कोठे अस्थायी भवन बनाइदिएको छ। सोही टोलीले जिल्लाका अन्य पाँच विद्यालयका लागि अस्थायी भवन बनाइरहेको पार्टी क्षेत्र नं. २ का इन्चार्ज नाम्गेल मोक्तानले जानकारी दिए। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दसमेत भीनपा–९ मा घरटहरा बनाएर फर्किएका छन्।
भूकम्पपछि प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरू वामदेव गौतम र प्रकाशमान सिंहदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसम्म दोलखाको निरीक्षणमा आए। धेरैजसोले प्रजिअ प्रेमलाल लामिछानेमार्फत जानकारी लिने र स्थानीय नेताका माग सुन्नेबाहेक थप काम गरेनन्। निरीक्षणमा आएका उच्चपदस्थहरूले नै माग पूरा गराउन पहल नगरेको आवाज जिल्लामा उठ्न थालेको छ।
‘जुनसुकै शीर्षस्थ नेताहरू ब्रिफिङ सुन्नुहुन्छ, कहालीलाग्दो अवस्था देखेर दुखेजस्तो गर्दै पीडितका माग पूरा गराउने वाचा गर्नुहुन्छ,' एमाओवादी जिल्ला नेता विशाल खड्काले भने, ‘तर, यहाँबाट फर्केपछि उहाँहरू ती सबै वाचा भुल्नुहुँदो रहेछ।' शीर्षस्थ नेताहरू ‘भूकम्प टुरिस्ट' का रुपमा मात्र जिल्लामा मुख देखाउन आएको भन्दै जनतामा निराशा बढेको खड्काले बताए।
केन्द्रीय नेतासँगको छलफलमा जिल्लाको सिँगटीमा पहिरोले पुरिएका शव उत्खनन र अवरुद्ध सडक खुलाउन उपकरण, जिल्लामै खाद्य संस्थान डिपो, पहिरो जोखिममा रहेका बस्ती अध्ययनका लागि भूगर्भविद्, पीडितलाई राहत र अस्थायी सेल्टरको माग उठ्ने गरेको छ। कांग्रेस जिल्ला सभापति ताराबहादुर कोइरालाले जिल्लाबासीका माग पूरा गराउन शीर्षस्थ नेता गम्भीर नदेखिएको बताउँछन्। ‘स्थलगत निरीक्षणमा उहाँहरूले प्रकट गर्ने चासोअनुरूप जुन परिणाम देखिनुपर्ने हो, त्यो पाइएन,' उनले भने।
प्रधानमन्त्री कोइराला, पूर्वप्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू गौतम र सिंह, मधेसी मोर्चा संयोजक गच्छदारले वैशाख २९ पछि जिल्लाको स्थलगत निरीक्षण गरेका थिए। दुईवटा हेलिकोप्टरमा आएका कोइराला, दाहाल र गच्छदार सैनिक ब्यारेकमा केही बेर छलफल गरी सदरमुकाम चरिकोट निरीक्षणमा निस्किएका थिए। उपप्रधानमन्त्री गौतम र सिंह सिँगटी बजार पुगेर फर्किएका थिए।
पूर्वप्रधानमन्त्री भट्टराई विकट गाउँ ओराङ पुगेर सदरमुकाम फर्किई प्रजिअ लामिछाने र दलका स्थानीय प्रमुखसँग छलफलमा बसेका थिए। संसदीय अनुगमन टोलीप्रमुखका रूपमा सभासद टोलीसहित आएका पूर्वप्रधानमन्त्री खनालले जिरी बजार निरीक्षण गरेका थिए। उनी दुई दिन जिल्ला बसेर फर्किए। हेलिकोप्टरमार्फत चरिकोटस्थित बर्दबहादुर गण झरेका एमाले अध्यक्ष ओलीले जिल्ला दैवी प्रकोप उद्धार समिति पदाधिकारी र जिल्ला तहका नेतासँग छलफल गरेका थिए। त्यहाँबाट सिँगटी बजार र जिरी हुँदै रामेछाप गएका थिए। पूर्वप्रधानमनन्त्री देउवा बुधबार सिँगटी बजरा निरीक्षण गरी फर्किए।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.