लगानीका लागि भर्जिन ल्याण्ड : दोलखा
हाल दोलखामा ३ सय ९९ ओटा निजी तथा ८० ओटा साझेदारीका फर्म रहेका छन् । सञ्चालनमा रहेका उद्योग सङ्ख्या २५ ओटा मात्रै रहेका छन् । त्यस्तै, ५ किलोवाटभन्दा मुनिका साना जलविद्युत् १४ ओटा, १० किलोवाटदेखि १ सय किलोवाटसम्मका साना जलविद्युत् आयोजना २३ ओटा रहेका छन् । लघु तथा साना जलविद्युत् आयोजनाको पनि अधिक सम्भावना रहेको जिल्ला विकास समितिको कार्यालयका अधिकारीहरू बताउँछन् । सम्भावना प्रचुर भएको दोलखा उचित प्रचारप्रसारको अभावमा लगानीकर्ताको दृष्टिमा पर्न सकेको छैन । अहिले दोलखामा पर्यटन, स्वास्थ्य, शिक्षा र उत्पादनमा लगानी गरेर तत्काल तथा दीर्घकालीन फाइदा लिन सकिने राष्ट्रिय वाणिज्य बैङ्क दोलखा शाखाका शाखा प्रबन्धक टीकाप्रसाद दुलाल बताउँछन् । ‘अहिले दोलखामा उद्यमशीलताका लागि भन्दा पनि व्यापारका लागि कर्जा लिनेको सङ्ख्या बढी छ,’ उनले भने, ‘सम्भावनालाई यथार्थमा बदल्न सके दोलखा समृद्धितर्फ लम्कने पक्का छ ।’
हाल दोलखामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ४ सय १६ विद्यालय र विभिन्न आठओटा क्याम्पस रहेका छन् । कुल जनसङ्ख्याको ५५ दशमलव ३७ प्रतिशत साक्षर रहेको दोलखाको शिक्षाक्षेत्रमा समेत लगानी गर्न सक्ने प्रशस्त ठाउँ रहेको स्थानीय व्यवसायी घनश्याम रिजाल बताउँछन् । ‘यहाँ उच्चतहमा सबै सङ्कायको अध्ययन÷अध्यापन गराउने क्याम्पस तथा केही मण्टेस्सोरी स्थापना गर्न सकिने अवस्था छ,’ उनले भने, ‘छिमेकी जिल्लाहरू रामेछाप, सिन्धुपाल्चोक तथा ओखलढुङ्गा र सिन्धुलीलाई समेत लक्षित गरी दोलखामा शैक्षिक संस्थामा लगानी गरिए राम्रो प्रतिफल लिन सकिन्छ ।’
दोलखामा कुल क्षेत्रफलको २६ दशमलव ४५ प्रतिशत कृषियोज्य जमीन रहेको छ । राजधानी काठमाडौंनजिकै रहेको तथा सिन्धुली हुँदै तराईमा समेत उत्पादन पुर्याउन सकिने हुँदा कृषि उत्पादनलाई बजारको अभाव हुँदैन । सिँचाइ, बजार तथा ढुवानीको समस्या नहुने भएकाले दोलखामा कृषिक्षेत्रमा ठूलो लगानी गर्न सकिने उद्योग वाणिज्य सङ्घ दोलखाका महासचिव हेमराज रिमाल बताउँछन् । बिगुको स्लेट (ढुङ्गा) खानी रहेको छ । यसको व्यावसायिक रूपमा उत्खनन हुन सकेको छैन । ठूलो लगानी गरेर उक्त स्लेट खानीको उत्खनन गरी त्यसका उत्पादनहरू स्थानीय बजार, काठमाडौं र तराईमा समेत निकासी गर्न सकिने सरोकारवालाहरू बताउँछन् । त्यस्तै, शैलुङ, कालिञ्चोकलगायत कतिपय ठाउँमा पोट्रोलियम, खनिजलगायतको अन्वेषण गर्नुपर्ने भूगर्भविद्हरू औंल्याउछन् ।
पर्यटकीय नगरी चरीकोटका अतिरिक्त जिरी, सिङ्गटी, शैलुङडाँडालगायतका ठाउँमा ठूला लगानीका होटल स्थापना गर्न सकिने सम्भावना छ । यी ठाउँमा तारेस्तरका होटल स्थापनाको अधिक सम्भावना रहेको होटल व्यवसायीहरू बताउँछन् । त्यस्तै दोलखामा ठूला अस्पतालमा लगानी गर्न सक्ने सम्भावना पनि रहेको छ । सुविधासम्पन्न ठूला अस्पताल निर्माण गर्न सकिए दोलखाका साथै रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लावासी पनि लाभान्वित हुने उद्योगी–व्यवसायीको भनाइ छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.