बारा र रामेछापमा देखियो स्वाइनफ्लु
काठमाडौँ, २० भदौ ।
बारा र रामेछापका १४ जनामा एच–१ एन–१ एन्फ्लुएन्जा (स्वाइनफ्लु) को संक्रमण देखिएको छ । बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको छ । १५ दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई आएको ज्वरो उपचार गराउँदासमेत निको भएको थिएन । त्यसपछि १७ जनाको रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा स्वाइनफ्लु लागेको थाहा भएको बाराका जनस्वास्थ्य प्रमुख डा. शंकर गुप्ताले बताए ।
स्वाइनफ्लु भएको पुष्टि भएपछि जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि आइतबार औषधिसहितको स्वाथ्यकर्मी परिचालन गर्ने भएको छ । यस्तै रामेछापमा पनि दुईजनामा एच–१ एन–१ एन्फ्लुएन्जा (स्वाइनफ्लु)को संक्रमण देखिएको छ । संक्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ । ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानका क्रममा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको हो ।
जिल्ला अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको नभएपछि परीक्षणका लागि आठ बिरामीको रगत टेकु अस्पताल पठाइएको थियो । जसमा दुईजनामा पोजेटिभ देखिएको छ । अस्पतालमा आउने बिरामीमा कडा ज्वरो देखिएपछि एक सातादेखि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. सुवास पाठक र डा. सुवास न्यौपानेले जिल्ला अस्पतालसहित मन्थलीको तामाकोसी सहकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पतालमा भर्ना भएका बिरामीको अनुसन्धान सुरु गरेका थिए ।
जिल्लामा कडा ज्वरोका बिरामी देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालका चिकित्सक, विश्व स्वास्थ्य संगठनका चिकित्सक र अस्पताल सञ्चालक समितिका पदाधिकारीसहितका टोलीलाई परिचालन गरेको छ । चिकित्सकका अनुसार एन्फ्लुएन्जा प्रारम्भिक चरणमा नै रहेकाले नियन्त्रणनजिक पुगेको छ । रोगको पहिचान भएपछि काठमाडौंबाट जिल्लामा थप औषधि प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.