बिजुलीमा गुड्न सकिन्छ
—मलाई बचाउनुस्।
—म नै भविष्य हुँ।
राजधानीको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागपछाडि थन्किएका थोत्रा ट्रली बसमा लेखिएका शब्द हुन् यी । बिडम्बना यहाँ निलो अक्षरले लेखिएजस्तो न त ट्रली निरन्तर चलिरह्यो, न ट्रलीको भविष्यबारे कसैले चासो नै दिए । ट्रली इतिहासमा सीमित बनिसकेको छ ।
देशमा डिजेल, पेट्रोलको हाहाकार भइरहेका बेला बिजुलीबाट चल्ने त्यतिबेलाको ट्रली बसलाई काठमाडौंवासीले झलझली सम्भ्किरहेका छन् । ‘ट्रली भएको भए सहजै गन्तव्यमा पुग्न सकिन्थ्यो,’ धेरैका थकथकीले बुझाउँछ– उपत्यकामा ट्रलीबसको औचित्य अझै टड्कारो छ ।
२०३२ सालमा चीन सरकारले पुरानो प्रविधिको विद्युतीय परिवहन सञ्चालनका लागि सहयोग गर्यो । त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस सेवा पनि विस्तार गर्यो । त्यस बेलाको स्टेसन नयाँ बानेश्वर पुग्दा बा अ घ १३ लगायतका नम्बर लेखिएका ट्रलीका लौहपन्जर मात्र देख्न सकिन्छ ।
ट्रली बसको कथा इतिहासमा सीमित भइसके पनि थोत्रा ट्रलीनजिकै ‘ट्रलीबस क्यान्टिन’ नाममा चमेनागृह पनि चलिरहेकै छ । क्यान्टिनजस्तै बसलाई जीवित राख्न सकेको भए पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला सहयोग पुग्ने यसमा चासो राख्नेहरू सुनाउँछन् ।
बिजुलीबाट चल्ने बस भइदिएको भए यसबेला नागरिकले जोरबिजोर सवारीको झन्झट बेहोर्नुपर्दैनथ्यो । भद्रकालीमा बसेको तेल भर्ने सवारीसाधनको लाइन बबरमहलसम्म पनि पुग्दैनथ्यो । भोकभोकै रातमा पम्पमा पालो कुर्नुपर्ने अवस्था कमै आउन सक्थ्यो । नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागपछाडि टायलले छाएका ठुल्ठूला टहरा यथावत छन् ।
सशस्त्र प्रहरी बल अस्थायी सुरक्षा बेस ट्रलीबस लेखिएको बोर्ड राखिएको छ । टहरा अगाडितिर काँडेतारले घेरिएको छ । छेवैमा एक बसभित्रै बासस्थान बनाइएको छ । स्टेसन वरपर टेम्पो चार्ज सेन्टर, टेम्पो मर्मत सेन्टर सञ्चालन गरिएका छन् । पछाडि टहरामुनि ५० भन्दा बढी ट्रली बसका अस्थिपञ्जर थन्किएका छन् । त्यहाँ पुग्ने जो कोहीले ट्रली बसको भताभुंग म्युजियमको अनुभव गर्न सक्छन् । तारका ठूल्ठुला बिटा गुजुल्टाएर फालिएका छन् । कुनै बसलाई मजदुरले कपडा सुकाउने ठाउँ बनाएका छन् त कसैले आराम थलो । भताभुंग, लथालिंग अवस्थाबाटै झल्किन्छ ।
देशमा जब संकट पर्छ, त्यसपछि मान्छेले विकल्प खोज्न थाल्छन् । पेट्रोलियम पदार्थको हाहाकारपछि यसको विकल्प खोज्न थालिएको छ । संकटअघि नै सोच्न नसक्दा यस्तो अवस्था आएको बताउँछन्, यातायात व्यवस्था विभागका इन्जिनियर शरद अधिकारी । ‘हामी सजिलोपट्टि गयौं । विकल्प खोजेनौं, उनी भन्छन्, ‘पहिले नै विकल्प तयार थियो भने यस्तो हाहाकार हुने थिएन ।’ क्युवाजस्ता देशमा चिनी मिलबाट निस्कने स्प्रिटलाई इन्धनमा परिणत गरेर गाडी चलाउँछन् । हाम्रो देशमा स्प्रिटबाट अल्कोहल बनाइन्छ ।
घरमा ल्याइदिने र भान्सामै लगेर जोडिदिने एलपी ग्यासमा निर्भर बन्दा अभाव झेल्न बाध्य बनेको उनी बताउँछन् । ‘परनिर्भर बढ्दो छ, विकल्पबारे भने हामी अल्छे बनेका छौं,’ उनले भने, ‘सौर्यबाट, बायोग्यास, हावाबाट बिजुली उत्पादन गर्न सकिन्छ तर झन्झट लिनै चाहेनौं ।’
पुरानै चलाउन गाह्रो
ट्रलीबसका इन्जिन कामै नलाग्ने भइसकेका छन् । अब पुनः प्रयोग गर्न सक्ने सम्भावना छैन । त्यहाँका काम लाग्ने इन्जिन चोरिएका छन् । त्यस विषयमा यातायात व्यवस्था विभाग भने बेखबर छ । ठाउँमात्र ओगटेर थोत्रा बस राखिएका छन् । त्यसलाई हटाएर अन्यत्र राख्न सके उत्पादनमूलक काममा उक्त ठाउँ प्रयोग गर्न सकिने स्थानीय बताउँछन् ।
बाटो विस्तारका क्रममा लाइन हटेपछि ट्रलीको बाटो नै बन्द भएको हो । चीनले आफूले छोड्न लागेको पुरानो प्रविधिलाई यहाँ भित्र्याइएको इन्जिनियर शरद अधिकारी बताउँछन् । काठमाडौं महानगरपालिकाले जिम्मा लिएर ट्रली चलाइरहँदा कोही चढ्न खोजेनन् । त्यस बेला विद्युत खपत बढेको र घाटा बेहोर्नुपरेकाले ट्रली सेवा नै बन्द हुन पुग्यो । ‘अब ट्रली बसको कुनै सम्भावना देख्दिनँ,’ अधिकारी सम्भावना देख्छन्, ‘बरु काठमाडौंको रिङरोडमा विद्युतीय रेल चलाउन सकिन्छ ।’
एक जना चढ्ने कार प्रयोग नगर्न र अहिलेको आपतमा एक–डेढ किलोमिटर हिँड्ने बानी बसाल्न पनि उनी सुझाउँछन् । तत्कालका लागि पेट्रोलियम पदार्थको विकल्पमा अन्य सवारी भित्र्याउन सकिन्न । भर्खरै ल्याउन सक्ने अवस्था छैन । यसबाट पाठ सिकेर आगामी दिनमा विद्युतीय चार्जबाट चल्ने बस भित्र्याउन प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा १० लाख सवारीसाधन छन् । १० लाख उपत्यकाबाहिर छन् । हाल उपत्यकामा विद्युतीय स्कुटर २ वटा, विद्युतीय टेम्पो ७ सय १४ वटा, विद्युतीय माइक्रोबस ५ वटा, विद्युतीय कार अनुमानित १ सय २५ वटा छन् । ती सवारी साधनमध्ये ७ सय १४ विद्युतीय टेम्पो उपत्यकाका विभिन्न १५ रुटमा, ४ सय ग्यास टेम्पो ६ वटा रुटमा र ४ वटा रुटमा अनुमानित ३ सय ६५ वटा ग्यास माइक्रोबस सञ्चालनमा रहेका छन् । उपत्यकाका विभिन्न २५ रुटमा जम्मा १५ सय विद्युतीय सवारी गुड्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.