Powered by Blogger.
दोलखाकी जालमायालाई भुइँचालै भुइँचालो

दोलखा, १५ कात्तिक ।

 जालमाया थामी हरेक रात उत्तानो परेर सुत्छिन् । दुई वर्षकी नातिनीलाई आफ्नो छातीमा घोप्टो पारेर सुताउँछिन् । ओछ्याउने आफू बन्छिन्, ओढ्ने नातिनी । अनि, निदाउँछन् दुवै जना । किनकि, सानो ओछ्यानमा ६ जना अँट्नुपर्छ । ‘बीचमा सुताउनु, अरूले किच्ने डर,’ गौरीशंकर माविको चौरमा छातीमा नातिनी टाँसेर सुताउने तरिका देखाउँदै उनले भनिन्, ‘हो, यसरी सुताएपछि अँटिन्छ पनि, ढुक्कले निन्द्रा पनि लाग्छ।’

भूकम्पपछि साहुको बारीमा बनाएको सानो गोठमा जालमाया, उनका श्रीमान्, साना–साना दुइटा छोरा, तीभन्दा साना दुई नाति–नातिनाले सुत्नुपर्छ । बिगु–६, मैसिङमा रहेको उनीहरूको घर भुइँचालोले भत्कायो । त्यसकै छेउमा गोठ बनाएर बसेका थिए । माथिबाट पहिरो खसेर गोठै पुर्छजस्तो गर्‍यो । ‘साहुको बारी अधियाँमा कमाएका थियौं,’ उनले सुनाइन्, ‘ती साहु आएर यस्तो पहिरोले पुर्ने ठाउँमा बस्ने भाउजू भन्दै गाली गरे ।

हिँड्नुहोस्, मेरो बारीमा लगेर गोठ बनाउनुहोस् भने । अनि, त्यतै सार्‍यौं ।’ जालमायाका जेठा छोरा शुक्र मलेसिया गएको यो भदौमा दुई वर्ष पुग्यो । छुट्टिएर आफ्नै गरिखान थालेका शुक्रका बर्सेनिका ४ छोराछोरी छन् । ‘बुहारी र नाबालक नाति–नातिना लिएर त्यही गोठमा गयौं,’ उनले भनिन्, ‘छोराले अर्काको जग्गामा होइन, आफ्नै जग्गामा बस्नु भनेर बुहारीलाई भनेछ । बिचरा बुहारी लोग्नेको मन राख्न दुइटा बालबच्चा च्यापेर पहिरोमुनि नै सरिन् । साना दुइटालाई चाहिँ मैले लान दिइनँ । मैसँग सुताउँछु ।’ वैशाख १२ गते ठूलो भुइँचालो गयो। बीचमा हल्लाइरह्यो । २९ गते फेरि ठूलै गयो । त्यसपछि पनि हल्लाइरह्यो। त्यसयता जालमायाको मन हल्लिएको हल्लियै भयो ।

‘आइज छोरा, मर्नु परे यतै सँगै मरौं भनेर धेरैपल्ट भनेँ,’ आँसु पुछ्दै उनले भनिन्, ‘बिदै मिल्दैन भन्छ । तलब घट्यो, बिरामी भएँ भन्छ, पैसा पनि पठाउन छाड्यो ।’ त्यसपछि छोराको फोन आउन ठ्याप्पैजस्तो भयो । भुइँचालोभन्दा ठूलो भुइँचालो त उनलाई छोरासँग बोल्न नपाएर गइरहेको छ । गाउँमा आउने बिजुली भूकम्प र पहिरोले भत्काइदियो । त्यसयता गाउँ अन्धकार छ । ‘मोबाइल चार्ज गर्नै पाइँदैन’, उनकी बुहारी सुशीलाले भनिन्, ‘बल्लबल्ल चार्ज गरेर ल्यायो, उहाँ (शुक्र) सँग सम्पर्कै हुँदैन । फेरि चार्ज सकिइहाल्छ । उहाँले फोन गर्न खोज्दा पनि सायद लाग्दैन होला ।’ गाउँकै व्यक्तिलाई वर्षको सयकडा ३६ रुपैयाँ ब्याजमा लिएको १ लाख ८० हजार छनछनी गनेर मलेसिया गएका शुक्रले दुई वर्षभित्र साहुलाई तिर्ने पैसासम्म पठाउन सकेका छैनन् ।

 ‘एकपल्ट एक लाख, एकपल्ट ६० र एकपल्ट ७० हजार पठायो,’ जालमायाले औंला भाँचिन्, ‘बुहारीले बनिबुतो गरेर ऊ विदेश गएको ऋणचाहिँ तिरिदिइसकिन् । उनीहरूको बिहे गर्दाको ऋण अझै तिर्नै छ ।’ त्यसभन्दा ठूलो ऋण त घर बनाउँदाको छ । जुन घर भुइँचालोले भत्काएर माटामा मिलाइदियो । ‘ऋणको पिरले विदेश गएको मेरो छोरो,’ जालमायाले बिलौना गरिन्, ‘त्यही घर पनि भत्कियो भन्ने सुनेर होला, धेरै चिन्ता गर्दै थियो । त्यसपछि पैसा पठाउनै छोड्यो ।’ भूकम्पपछि बदलिएको शुक्रको व्यवहारले श्रीमती सुशीलाको मनमा पनि ढ्याङ्ग्रो ठोक्छ ।

 ‘मलेसियामा धेरै नेपाली फस्छन् भन्छन्,’ उनी शंका गर्छिन्, ‘कतै उहाँ पनि फस्नुभयो कि ? आफैं दुःखमा पर्नुभयो भने कसरी हामीलाई पैसा पठाउनुहोस् ?’ आमाको मन, जालमाया रुँदै कामना गर्छिन्, ‘मेरो छोरालाई केही नहोस् ।’ आफ्नो उमेर ५० र ७ बताउने जालमायाले थपिन्, ‘नमरी बाँचे भेट त अवश्यै होला ।’ बिगुको वडा नम्बर ६ मा १५–१६ घर थामी छन् । ‘ती परिवारबाट झन्डै ३५–३६ जना त विदेशमै होलान्,’ जालमायाकी देउरानी सञ्चीमायाले भनिन्, ‘५० वर्षभन्दा तलका लोग्ने मान्छे कोही गाउँमा छैनन् ।’

 उनका श्रीमान् सुकमान पनि साउदी अरब गएको दुई वर्ष भयो । महाभूकम्पले उनलाई पनि दोहोरो चोट पुर्‍यायो, त्यसयता सुकमानले पैसै पठाएनन् । कुरा गर्न, मोबाइलमै आँसु झार्न उनलाई औधी रहर छ । समस्या सुशीलालाई जस्तै छ, चार्ज गर्ने बिजुली त्यही भूकम्पले भत्काइदियो । सञ्चीमायाका ५ छोराछोरी छन्, सुशीलाका ४ । दुवै बनिबुतो गरेर गुजारा चलाउँछन् । ‘तीन महिना गरेको खेतीले एक महिना खान पुग्दैन’, सुशीलाले भनिन्, ‘हामी पछौटे जाति, धन्न कामचाहिँ पाउँछौं ।’ खुसीको कुरा, उनले आमाजत्तिकै माया गर्ने सासू पाएकी छन् ।

 ‘दिनभरि चारैजना केटाकेटी म हेरिदिन्छु,’ जालमायाले भनिन्, ‘बुहारी बनी गर्न जान्छिन् । एक दिन काम गरेको चार माना आउँछ, त्यसैले खान्छौं ।’ गाउँमा खानेपानी ल्याएको मुहान पहिरोले पुरिदियो । पानीको पनि हाहाकार छ । ‘काल नआउन्जेल जस्तै दुस्ख सहेर पनि बाँचिने रहेछ,’ उनले कुरा टुंग्याइन्, ‘छोरो फर्किआए, मरे सबै मरिन्थ्यो, बाँचे सबै बाँचिन्थ्यो ।’ स्रोत कान्तिपुर दैनिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.