दोलखाका भूकम्प पीडित भन्छन,‘टहरा बनाउनु भन्दा पहिला हामी २ जना ढल्न पाए हुन्थ्यो’
दोलखा, १३ माघ ।
हातमा लागेका खत र घाउ हेर्दा जो कोहीको पनि ज्यान सिरिङ्ग हुन्छ भने विचरा ज्ञान बहादुरलाई चाँही झन कति पीडा हुन्छ होला । फुक्लेका दाँत, फाटेको कोट, छियाछिया भएका औला देख्दा दया नजाग्ने पनि सायदै होलान् । दैनिकी र कष्ट झट्ट हेर्दा कुनै नाटकको दृष्य जस्तो लाग्छ, तर ज्ञान बहादुरको जीवन त्यस्तै नाटकिय रुपमा चलेको छ ।
उमेरले त ज्ञान बहादुरको उमेर मिठो मसिनो खाने र पर्याप्त आराम गर्ने हो । तर सबैलाई भनेजस्तोम कहाँ हुन्छ र ? ७० वर्षको उमेरमा पनि भिमेश्वर नगरपालीका वडा नम्बर ३ डोक्थली गाउँका ज्ञानबहादुर बाँच्नकै लागी संघर्ष गरिरहेका छन् ।
उमेर छँदा दुःख गरेर बनाएको घर भूकम्पले गल्र्यामगुर्लुम ढालेपछि ज्ञानबहादुरलाई बुढेसकालमा नसोचेको दुख आइलागेको छ । बल्लतल्ल ठड्याएको टहरोले बर्खा जसोतसो धानेपनि हिउँद धान्न नसकेपछि चोयाको मान्द्रो बुन्दै टहरो बार्नुको विकल्प ज्ञान बहादुरसँग छैन । हिउँद धान्न बिहानको तुषारोदेखि झिसमिसे साँझसम्म ज्ञानबहादुर चोया काढ्नमै ब्यस्त हुनुपर्छ । मुटुछुने चिसोमा चोया काढ्दा हातले भर नपाएर उनको हात रक्ताम्य हुन्छ । यस्तै संघर्ष गरेर टहरो बार्ने उनको धोको छ ।
ज्ञान बहादुर थामीका छोरा बुहारी नभएका होइनन् । तर २ जना छोरा छुट्टिएर बसेका छन् । बुहारीलाई सुख दिन छोराहरु विदेशमा छन् बुहारीले ज्ञानबहादुरको हेरचाह गर्दैनन । हुन त ज्ञान बहादुरकी जिवनसंगिनी नभएकी होइनन् । तर श्रीमती बसेको ठाउँबाट उठ्न नसक्ने भएपछि श्रीमतीको दिसा पिसाब सोहोर्नेदेखि जुठोभाँडोको काम पनि स्यहारसुसार पनि ज्ञान बहादुरले नै गर्नुपर्छ ।
झट्ट हेर्दा गाइभैँसी बस्ने गोठ जस्तो देखिने टहराभित्र श्रीमती लडेको देखाउँदै गर्दा ज्ञान बहादुरका आँखा रसाए । ‘दुःख छ हजुर कसैले देख्दैनन्, बुढेसकालमा दैव लाग्यो घर भूकम्पले लग्यो,श्रीमती रोगले लडायो बिजोग छ’ आँखाभरी आँसु पार्दै ज्ञान बहादुरले भन्नुभयो, ‘यो उमेरमा यत्रो दुख्ख पाइयो, मर्न पनि सजिलै नपाइने भयो यो कस्तो संसार ? ।’
डोक्थलीगाउँको सबैजसो परिवारको आफ्नो नाममा जग्गा छैन, २ सय भन्दा धेरै परिवारले दोलखाका नेवारको जग्गा कमाएर गुजारा चलाउँदै आएका छन । ज्ञान बहादुरले पनि उमेर छउञ्जेल साहुको जग्गा कमाउनुभयो तर बुढ्यौली बढ्दैगएपछि जग्गा कमाउन सक्नुभएन । छोराबुहारीले पनि साथ छोडे । अनि सुरु भए दुःखका दिन ।
अहिले पनि ज्ञान बहादुरले केही डोका मान्द्रा बुनेर आफ्नो ज्यान पाल्नुभएको छ, तर जब टहराभित्र ज्युदो लाशजस्तै भएकी श्रीमती देख्नुहुन्छ आँसु थाम्न सक्नुहुन्न । झनै भूकम्पले घर ढाल्दा अन्नपानी र भाँडाकुँडा पुरिँदा ज्ञान बहादुरको बिल्लीबाठ भएको छ । सरकारले केही राहत त दिएको थियो, अरुले दिएको कति टिक्थ्यो र ज्ञान बहादुरलाई अहिले हातमुख जोड्न पनि समस्या छ ।
श्रीमतीको उपचार गरेमा कमसेकम पकाएर खान दिन सक्ने ज्ञान बहादुरलाई आसा छ । तर अस्पाल लैजाने पैसा नभएकोले उहाँले श्रीमतीको दिसापिसाब स्याहार्न बाध्य हुनुभएको छ । ‘अस्पताल लग्यो भने २ हजार २५ सय लागि हाल्छ, हामी त्यत्रो रकम कसरी जोहो गर्नु हजुर’ फेरी बर्बरी आँसु झार्दै उहाँले भन्नुभयो ‘आफ्नी श्रीमती ओछ्यानमा कुहिएको हेर्न कसलाई मन हुँदो हो र ?’
आफ्नै छोराबुहारीबाट त कुनै आसा नगरेका ज्ञान बहादुरलाई कसैसँग पनि आस छैन । श्रीमतीको दुख देख्न नसकेर उहाँ दिनमा धेरैपटक डाँको छाडेरै रुनुहुन्छ र ज्ञान बहादुरका आँसु अमृत बनेर श्रीमती निको पार्न सक्दैनन् । ‘कसैले सहयोग गरेमा मेरा लागि भगवान उनै हुनेछन’ ज्ञान बहादुरले भन्नुभयो, ‘मैले जे जस्तो दुख पाएपनि कमसेकम श्रीमतीको यस्तो हालत देख्न नपाए हुन्थ्यो ।’
तपार्इँको टहरो त चैत बैशाखको हुरीले पनि लडाउला जस्तो छ नी ? प्रश्न खुस्किन नपाउँदै ज्ञान बहादुरले भने, ‘मेरै जिन्दगीको त भर छैन भने टहराको त के भर र,तर टहरो ढल्नुभन्दा पहिला हामी २ जना ढल्न पाए हुन्थ्यो ।’उज्यालो अनलाइन बाट
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.