लुटन पल्केका गाविस सचिवको सरुवा रोक्न किन यत्रो दौडधूप !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpmfSdc_83Z9vzuc60TflyGwsvGq_b07UOleL1jDSZRrtYldSs406YAfFaqsgnTTO2dHP0CLZroq0z__HMN6OLU8GZywbsm1aGq7qQFCjOAbFUnxwjk5LbhtUoEjbH4ivVh23ycaoYpSK-/s640/dolakha-825.jpg)
दोलखा, १४ माघ ।
लामाबगर गाविसमा कानुनविपरीत दुई सचिव रहँदा सरकारका मन्त्रीले कानुनकै उपहास गर्दै सरुवा रोक्न दबाद दिएको बुझिएको छ । पर्यटन मन्त्रीदेखि स्थानीय विकास मन्त्रीसम्मले दबाब दिएको पाइएको छ । १० महिनाअघि नै सरुवा भइसकेका लामाबगर गाविसका सचिव भरत पौडेलले हालसम्म पनि गाविसको पत्रमा जबर्जस्त हस्ताक्षर गर्दै आइरहेका प्रमाण फेला परेको छ ।
गाविस सचिव पौडेलको सरुवा जोगाउन पर्यटनमन्त्री आनन्द पोखरेलदेखि स्थानीय विकास सहायकमन्त्री विराज विष्टसम्मले दबाब दिएको खुल्न आएको हो । जिल्ला विकास समिति दोलखाका प्रशासन प्रमुख मुनहरि थापालाई टेलिफोनबाट गाविस सचिव पौडेलको सरुवा कुनै पनि हालतमा कार्यान्वयन नगर्न दबाब दिएको बताइएको छ । पर्यटन मन्त्री पोखरेलले सरुवा कार्यान्वयन नगर्न र चैतसम्म सोही गाविसमा कामकाज गराउन जिविसलाई आग्रह गरेको स्रोतले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYgT6DFbIX_IwyHI_UO6Wair8c12531orifFDD5g3eXweNjuBOGcrlb5Cebry4_1iIBn7j95xcu5gbkFL-Lw0JVrYX5QkdBBiYdou8I1qMYXb1Kr6bZ7UKsbEpI4EWJQ1f-K_NKMZpifN3/s640/dddd.jpg)
मोबाइल नम्बर ९८४९२२०७३८ बाट मन्त्रीको पीए हुँ भन्दै धम्की दिनुको साथै मेसेजसमेत पठाएर खरिदारको दरबन्दीमा नायब सुब्बा पौडेललाई पोष्टिङ गर्न दबाब दिइएको थापाले जानकारी दिए । स्थानीय विकास मन्त्रालयका सहायकमन्त्री विष्टको कार्यालयको टेलिफोन नम्बर ४२००५०४ बाटसमेत प्रशासन प्रमुख थापालाई फोन गरी सरुवा रोक्न दबाबका साथै धम्की दिएपछि कार्यालयको काम गर्दा समेत थापाले तनाव व्यहोर्नु परेको गुनासो गरे । मन्त्रालयमा सम्पर्क गरी बुझ्दा आफ्नो फोन दुरुपयोग भएको हुनसक्ने तर आफूले फोन नगरेको विष्टका स्वकिय सचिव माधव तिमल्सिनाले दाबी गरे भने मोबाइल हालसम्म पनि स्वीच अफ गरिएको छ ।
सचिव पौडेललाई जिविसले गत वैशाखमै लाकुरीडाँडा र बोच गाविसमा कामकाज गर्ने गरी सरुवा गरिएको जिविसको तथ्याङ्कमा उल्लेख गरिएको छ । तथापि सचिव पौडेलले गाविस सचिव हकहित संरक्षण मञ्चको अध्यक्ष हुँ भन्दै पत्र नबुझेपछि मंसिरमा गृह गाविस सुनखानीमा सरुवा भएका थिए । सरुवा भएर सुनखानीमा कामकाज सुरु गरे पनि पत्र नबुझेको र लामाबगर गाविसको कागजातमा पनि दोहोरो हस्ताक्षर गरी सरुवा नभएको भन्ने जबर्जस्त प्रमाणित गर्न खोजेको जिविसको दाबी छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjW8TavkBx6l4dMOYnhEHNVaemU7G9CvCGRvfLLbaXTdXl_Bd7YhSbniChweaYptLAjO-0G43A95TZw5IJ_QdYWJLj_21W0hxfXzeE0l7pPaIUJ0tCiZIiya9TY0MpBRVFl-nuTTv1qfhCC/s640/dolakha-2-ssss.jpg)
उत्तरी दुर्गम लामाबगर गाविसमा कार्यरत हुँदा दुर्गम भत्तादेखि विभिन्न जलविद्युत आयोजनाको बैठक भत्ता कमाउने लोभदेखि हेलिकप्टर चढ्नसमेत पाइने हुँदा सचिवहरुको आकर्षणमा रहेको गाविस हो । सोही गाविसकै अन्य कर्मचारीहरुकाअनुसार सचिव पौडेलले त्यहाँ चरम आर्थिक अनियमितता गरेका थिए ।
सोही कारण उनी सरुवा हुन नचाहेको स्रोतको दाबी छ । लामाबगर गाविसमा तेजकुमार धमलाको दरबन्दी रहेको छ भने पौडेल जबर्जस्त काजमा बसेका छन् । मन्त्री पोखरेलले यसविषयमा आफूलाई कुनै जानकारी नभएको र स्थानीय विकास अधिकारीसँग सम्पर्क गर्न आग्रह गरे ।
नेप्लिजबाट
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.