Powered by Blogger.
पति विदेशमा, पत्नी चक्कर मा

दोलखा, ३० फागुन । छब्बीस वर्षीया कल्पना (नाम परिवर्तन) को बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । उनले छोरो जन्माइन् । सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति बिदेसिए । त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नफर्कंदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

– भीमेश्वर नगरपालिका–३ की २१ वर्षीया एक महिला पति बिदेसिएको महिनादिनमै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् । यी दुई प्रतिनिधि घटना हुन्, जिल्लामा बिदेसिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पतिलाई नांगेझार बनाएर परपुरुषसँग सल्कनेको महिलाको संख्या पनि । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला सेलमा यसरी पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाऊँ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्र मानिस हराएको भन्दै खोजपडताल गरीपाऊँ भन्ने ८३ वटा निवेदन दर्ता भएका छन् जसमध्ये महिला हराएको मात्र ४८ वटा छन् । पुरुष आठ र बाँकी बालबालिका हराएको वा सम्पर्कबाहिर रहेको निवेदन परेका छन् ।

महिला हराएका ४८ निवेदनमध्ये २५ वटाजति त माथिका घटनाक्रमसँग मिल्दाजुल्दा छन् । जिल्ला प्रहरी कार्यालय, महिला सेलमा दर्ता निवेदनअनुसार महिला सम्पर्कबाहिर हुने उजुरीमा सम्बन्ध र सम्पत्तिसँग बढी जोडिएका देखिन्छन् । महिला सम्पर्कबाहिर रहेकाले खोजतलास गरी पाऊँ भनी दिइएको उजुरीमा श्रीमान विदेश रहेका बेला भागेको, प्रेमीसँग हिँडेको, सम्पत्ति लिएर हिँडेको जस्ता घटना धेरै छन्, जिल्ला प्रहरी कार्यालय, दोलखाअन्तर्गत महिला सेलमा कार्यरत प्रहरी जवान सरस्वती जिसी भन्छिन् ।

पहिलो घटनाअनुसार कल्पना केटालाई घरमै बोलाउँथिन्, सासूससुरा र घरका सदस्यलाई काकाका छोरा भनेर चिनाउँथिन् । सातवर्षे छोरालाई मामा भन्न सिकाइन् । भाइसँग माइत जान्छु भन्दै उनी तिनै पुरुषसँग काठमाडौं ओहरदोहर गर्न थालिन् । माइती पक्षलाई काकाससुराको छोरा भनेर परिचय गराइन् ।

विदेशमा रहेका पतिको मात्र होइन, उनले घर र माइती दुवै पक्षको आँखामा झुटको सहाराले छारो हाल्दै गइन् । झुटो धेरै दिन टिक्दैन, माइतीका दाजुलाई शंका लागेपछि बहिनीको घरमा उनका जेठाजुलाई फोन गरेर ती पुरुषबारे सोधेपछि बल्ल रहस्य खुल्यो ।

त्यो पुरुष देवर वा भाइ नभई उनको पे्रमी रहेको रहस्य खुलेलगत्तै कल्पना परिवार, माइती र आफ्नै छोरालाई समेत त्यागेर त्यही केटासँग हिँडिन् । बुहारी सम्पत्ति र गरगहनासहित सम्पर्कविहीन भएपछि ससुराले खोजतलास गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।

जिसीका अनुसार पति बिदेसिएपछिको प्रेमसम्बन्धबाहेक अन्य कारण पनि महिलाले घर छाडेर हिँडेका उदाहरण छन् । विदेश बसेका पति घर फर्किएपछि आफूले पठाएको रकमको हिसाबकिताब हुने र त्यसैमा झगडा परेर तनाबमा पत्नीले घर छाडेका उजुरीमा आइरहन्छन् । विदेशमा रहँदा पतिले कमाएर पठाएको रकम सही ठाउँमा खर्च नगर्ने महिला सम्बन्धमा दरार बढ्दै गएर घरै छाडेका निवेदनसमेत महिला सेलमा आएको जिसीले जानकारी दिइन् ।

जिल्ला प्रहरीमा दर्ता भएका यस्ता निवेदनलाई प्रहरीले प्रक्रियामा लगेरै सल्टाउने गर्छ । खोजतलासको उजुरी लिएपछि उजुरीकर्तासँग मौखिक बयान गरेर पहिला घटनाक्रम अध्ययन गर्छौं, जिसी भन्छिन्, घटनाको यथार्थ पत्ता लागेपछि खोजतलास गर्नुपर्ने व्यक्तिबारे मातहत र माथिल्लो निकायमा परिपत्र गर्छौं ।

उनका अनुसार ८३ मध्ये ३० जनालाई परिवारको सम्पर्कमा ल्याइसकिएको छ । सकेसम्म सहमति गराएरै पठाउने गरेका छौं, उनी भन्छिन्, ‘यस्ता उजुरीमा अहिलेसम्म मुद्दा चलाउनुपरेको छैन ।’ नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.