Powered by Blogger.
जेठ २९ को त्यो अत्यासलाग्दो मुडेदेखी भैंसेसम्मको यात्रा

सोभित थपलिया

फेरी एक वर्ष अघिको घटना याद आयो । त्यही दिन थियो २९ वैशाख, २०७२ । आम देशबासी र दोलखा जिल्लाबासीका लागि सम्भवन अत्यासलाग्दो दिन । त्यही दिनको यात्रास्मरणलाई एक वर्ष पछि फर्केर हेर्दाः 
झन्डै १० महिनापछि जिल्ला जाने कार्यक्रम बन्यो । २९ वैशाखमा बिहान ७ः१५ मा दोलखा जाने तयारी भयो । अरनिको राजमार्गअन्तर्गतको शैलुङ्गेश्वर यातायातबाट यात्रा सुरु गरियो । 

१२ वैशाखको महाभूकम्पपछि जिल्लाबारे फोनमा बाहेक जानकारी लिन सकिएको थिएन । यात्रा एक वर्षअघि स्वर्गारोहण हुनुभएकी हजुरआमाको वर्षदिनको काम सक्ने र जिल्लामा भूकम्पले पारेको गतिविधिबारे जानकारी लिने इच्छासहित तय भएको थियो ।

सुरुवातमा सामाजिक सञ्जालमा स्टाटस लेख्न भ्याएँ । बाइबाइ काठमाडौँ, कुनै दिन समय भए भेट गरौँला है त, बाँकी समय मस्ती गर काठमाडौँ र गाउँको माया, घरको माया, त्यो भन्दा बढी भूकम्पबाट बचेको घरको माया स् लोकगीत सुन्दै लागियो दोलखा । यात्रा सुमधुर तय भयो, झन्डै पहिलो स्ट्याटसजस्तै ‘कुनै दिन समय भए भेट गरौँला है त काठमाडौँ ।’

यात्रा क्रममा अधिकाशं यात्रा सिन्धुपाल्चोक हुँदै बाटो तय गर्नुपर्ने । दोलखा जानु अघिल्लो दिन प्रेस चौतारी नेपालका महासचिव माधव नेपालको स्टाटस हेरेको थिएँ, ‘अब सिन्धुपाल्चोकमा सग्लो घर रहेनन् ।’ मन सारै दुःखेको थियो । अनि अवस्था कस्तो होला भन्ने जान्ने, हेर्ने चाहना थियो । बाटोमा हेर्दै गएँ, वास्तवमा गाडीबाट देखेजति कुनै घर पनि सग्ला थिएनन्, सबै क्षत्विक्षत । गाडीबाट देखिने दृश्यमा केही मानिस अस्थायी आवास बनाउँदै थिए । केही भत्केको घरबाट बचेको अन्न निकाल्दै थिए । कोही पुर्पुरोमा हात लगाएर झोकाउँदै थिए । मनै कुँडिने दृश्य थियो ।

सदा भन्दा गाडी अलि सुस्त गतिमा थियो । ११ बजे खाडीचौरमा सानी राजभण्डारी भोजनालयमा खाना खाएर उकालो लागेको ९मुडेतर्फ० गाडी १२ः ५० मा मुडे पुग्यो । केही यात्रुलाई गाडीमा चढाएपछि मुडे–मेलुङ सडकखण्डको यात्रा तय गर्ने क्रममा थियो । १२ः५५ मा गाडी अगाडि बढ्यो । गाडी सडकखण्डको अन्तिम घर अगाडि थियो । दायाँतर्फ चारतले घर थियो (त्यहाँ रेडिमेड पसल थियो) । बायाँतर्फ जस्तापाताको टहरा (त्यहाँ किराना पसल) थियो । गाडीको गतिले तीन बजेसम्म शैलुङ्गेश्वरको भैँसेमा पुग्ने अनुमान थियो । गाडी अगाडि बढाउने क्रममा अलि फरक आजाव आयो, बिग्रेको गाडीको जस्तो ।

बाहिर सुनिन थाल्यो, आयो– आयो–आयो, राम–राम–राम, नारायण–नारायण–नारायण । आश्चर्यमा परेँ । बि साइडको ७ र ८ नम्बरको सिटमा थिएँ । झ्यालपट्टि भाइ सन्तोष थपलिया थियो । झ्यालबाट बाहिर हेर्दा मान्छे भागाभाग गर्दै थिए । पसलभित्र लुँडो खेलिरहेका दुई जना सकेसम्म दगुरेर बाहिर निस्के । सँगैको बायाँतर्फको ढोकाबाट एकजना अलि ठूलो ज्यान भएकी महिला निस्किन्, केही समयमा सानी बच्चीलाई बाहिर निस्केका अधवैँशे पुरुषले मेरो बाबा के भयो तिमीलाई भन्दै बाहिर निकाले, न्यायो अँगालोमा बाँधे । झ्यालबाट हेरिरहेको थिएँ ।

त्यो बेलासम्म दायाँ हातले भाइको दाँया हात समातेर बसेको थिएँ । जुन समय पहिला मेरो परिवार, भगवानको नाम, नेप्लिज ओआरजीका सहकर्मी, जनसवाल सहकर्मी, सहकारी पत्रकार समाजका केही साथी, कारोबारकर्मी केही साथी, चितवनमा रहेको आफन्तलाई समेत सम्झन भ्याइसकेको थिएँ । तर यति छोटो समयमा कसरी यति धेरैलाई सम्झेँ । पछि आफैँ चकित बनेँ । भूकम्प आइरहदा गाडी अलिक ओरालोमा थियो । अगाडि सवारी चालक बायाँ खुट्टाले ब्रेकमा थिचेर दायाँ खुट्टा बाहिर निकालेका थिए ।

केही मानिस गाडी अगाडि बढाउन भन्दै थिए, केही नबढाउन । केही हाम्रो ज्यान जाने भयो, घर ढल्यो भनेर कराउँदै थिए । झ्यालबाट माथि हेर्दा रेडिमेड पसल भएको घरको माथिल्लो भाग गाडीको छतमा देखिन्थ्यो । सबैले ज्यानको माया मारिसकेका थिए । केही ढोकाबाट बाहिर निस्कन भ्याइसकेको थिए । यत्तिकैमा गल्र्याम्म आवाज आयो । गाडी रोकिए भन्दा १० मिटर तलको घर ढल्यो । पुसमा लाग्ने कुहिरो भन्दा बढी धुलो निस्कियो ।
जानकारीमा आएअनुसार मानवीय क्षति भएन । 

कम्पन कम भएपछि लगभग दुईसय मिटर अगाडि गाडी रोकियो । त्यहाँ उभिँदा ६ पराकम्पन गन्न भ्याइयो । जहाँबाट (मुडे–मेलुङ सडकखन्ड जाने बाटो) पूर्वतर्फ निकै धुलो उड्यो । केही मानिस भन्दै थिए, ‘घ्याङ डाँडाको पारिपट्टि र रामेछाप तथा दोलखाको सिमानामा रहेको खोलाखर्क भन्दा केही तल निकै ठूलो क्षति भयो । सोही बसाइमै केही मानिस डाँको छोडेर रुन थाले । मेरो बाँकी रहेको घर गयो भन्दै ।

२० मिनेटको बसाइपछि गाडी अगाडि बढ्यो, फेरि अर्को पराकम्पन आयो । अगाडि आर्मी देखिए । उनीहरुलाई सोध्दा गाडी भैँसे पुग्ने विकल्प थिएन । हबल्दारले भने, ‘जान्छ–जान्छ, गए हुन्छ बाटो हेर्दै जानु ।’ सवारीचालक केही समयमा जाउँला भन्दै थिए । यो अवधिभरि आकाशमा पहेँलो, खैरो रंगका हेलिकप्टर चारपटक आवतजावत गरिसकेको थियो ।

रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा बढी प्राथमिकता दिएको देखिन्थ्यो । अमेरिकन हेलिकप्टर जिरीबाट काठमाडौँ आएको देखियो भने केही समयमा सायद काठमाडौँबाट दोलखा गएको होला, सडकमा उभिएर हेर्ने स्थानीय भन्दै थिए, ‘कति धेरै पंखा भएको हवाईजहाज किन यति होच्चिएर आएको होला रु’ हेरिरहेको थिएँ ।
२० केजीको हाराहारीको भारी कसरी २६ किलोमिटर बोकेर जाने भन्ने चिन्तामा थिएँ । यत्तिकैमा त्यो अमेरिकन हेलिकप्टर सिधै दोलखा गएको देखियो । त्यो समय कुनै पनि सञ्चारका साधन सम्पर्कमा थिएनन् । लगभग दुई बज्यो, गाडी नजाने भएपछि यात्रा अघि बढ्यो, २० किलोमिटरको, अन्दाजी २० केजीको भारीसहित । बाटोमा देखिएका कुनै पनि घर सग्ला थिएनन् । यत्तिकैमा घरले च्यापेको भन्दै स्थानीयले सरकारी नम्बर भएको गाडीमा घाइतेलाई अस्पताल लैजाँदै थिए ।

आफ्नै आँखाअगाडि जस्तापाताले छाएको घर ढलेको पनि देखेँ । त्यो समय लागेको थियो, थोरै चर्केको घरमा गएर मज्जाले आङ तानेर खाटमा सुतिन्छ । तर बाटोको दृश्य देख्दा मेरो सपना अधुरै रहने पक्का भयो । हिँड्न थालेपछि देखियो, बाटोमा तीन ठाउँमा पहिरो गएछ । अंगेरी डाँडामा विस्तारै ढुंगा झर्दै थियो । जहाँ पुगेर मोबाइल अन गरेँ, केही समयका लागि भए पनि टावर आयो । तत्कालै घरबाट फोन आयो, हामी ठीकै छौँ भन्यौँ । घर ठीकै छ, राम्ररी आउनु भने । बुबाले भनेको कुराले आङसिरिङ्ग भयो ।

बाटोमा देखिएको दृश्यले चित्त बुझाएँ । तत्कालै रामकुमार एलन सरले काठमाडौँमा भागाभाग भएको जानकारी गराउनुभयो । मेरोबारे जानकारी लिनुभयो । शन्तराम विँडारी, राजेन्द्र भण्डारीलगाएतको फोन आयो । टंक राउत, कल्पना बस्नेत केही अपरिचित नम्बरबाट फोन र सन्देश आयो । मन प्रफुल्लित भयो । सोही ठाउँमा पहिरो आइरहेको थियो । झन्डै बायाँ खुट्टामा ढुंगाले लागेन । फेरि बाँचियो जस्तो लाग्यो ।

काठमाडौँबाट दोलखा जाँदा जुन उत्साह बोकेर यात्रा तय भएको थियो । घर पुग्दा उत्साह तुहियो । २९ वैशाखको भूकम्पले बचेको घर पनि भित्र पस्न नसक्ने भएछ । तीनरात गाईगोठमा सुतेर १ जेठमा काठमाडौँ फर्किएँ । काठमाडौँका कुनै सडक(गल्लीमा सटर तानेको आवाज आयो भने पनि भूकम्प आएको जस्तो लागेर मुडेमा सुनेको आवाज राम–राम–राम, नारायण–नारायण–नारायण शब्द अनायासै आउन थालेको छ । आखिर कति समयसम्मका लागि हो, थाहा छैन ।

जब १२ वैशाखमा भूकम्प गयो । त्यसको असर दोलखामा कम नै थियो । लाग्दै थियो, दोलखामा यसपटक संकट टरेर गयो । तर, प्रकृतिको लिला, न देख्न सकिने, न बुझ्न नै । केवल विपत्तिपछिको भोगाई मात्र आत्मसात् गर्नैपर्ने । अहिले ममात्र होइन, आम दोलखाबासी यस्तै सोचिरहेका छन् । सोच्न बाध्य छन् । २९ वैशाख मंगलबार मध्यान्हको पराकम्पनपछि । दोलखामा कमैको घरमा १२ वैशाखमा क्षति पुगेको थियो ।

२९ वैशाखको पराकम्पनले सखाप बनायो । अहिले दोलखाका दुई नगरपालिका र ४८ गाविसका घरमध्ये लगभग दुई प्रतिशत पनि सग्ला छैनन् । ढले, सबै ढले, रहेनन् कुनै पनि, जे जति बाहिरबाट सग्लो देखिन्छ, भित्र पस्दा घरको धुरीबाट खस्ने ढुंगा, टायल, फलेकले टाउको नफुटाउला भन्न सकिन्न ।

काठमाडौँबाट घर जाँदा सकुशल छाडेको भाडाको घर पनि उस्तै भयो । गाउँमा गाईगोठमा सुतेर फर्कँदा काठमाडौँमा चाहि डराएरै भए पनि आफ्नै कोठामा सुतौँला भन्ठानेको थिएँ, तर ढोका नै खुलेन । अनि त अर्को समस्या लाग्यो, भूकम्प आउनेबित्तिकै गाउँको घर ढल्यो, सहरको डेरा पनि भत्कियो । अहिले घरनजिकैको ईटम्बहालमा रंगिबिरंगी पाल टाँगिएको छ । त्यहीँ म पनि छु रात गुजार्दै ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.