जिरीमा ४६ घरका लागि ५ धारा, धारा छ पानी छैन
विनासकारी भूकम्पअघि पानीको धारामा थोरै मात्रामा पानी आए पनि भूकम्पपछि अहिले सिंगो गाउँ नै पानी विहीन बनेको छ । ४६ घरधुरी रहेको घुन्सामा जम्मा ५ वटा मात्र पानीको धारा छ । तर अहिले पानीको मुहान सुकेपछि ५ वटै पानीको धारामा पानी आउन छाडेकोले घुन्सा बासीलाई पानीको संकट परेको हो । तल्लो गाउँमा पानीको मुहान भएकोले घरसम्म पानी ल्याउनका लागि लामो समय खर्चनु पर्ने अवस्था सृजना भएको छ ।
गाउँको धारामा पानी सुकेपछि गाउँभरिको सर्वसाधारणहरु पानी लिनका लागि तल्लो गाउँमा जाने र तल्लो गाउँमा पनि एउटै मात्र पानीको मुहान भएकाले लामो बाटो हिँडेर पानी लिनको लागि लाइन बस्नु पर्ने समस्या रहेको छ । स्थानीय राजेश नेपालीका अनुसार २२ घरधुरी दलितहरुका लागि २ वटा पानीको धारा रहेको छ । अहिले २ वटै धारामा पानी आउन छाडेपछि डोकोमा पानीको भाँडो बोकेर विहान सवेरै तल्लो गाउँमा रहेको पानीको मुहानसम्म पुग्नु पर्ने अवस्था रहेको छ ।
त्यस्तै माथिल्लो बस्तीमा २४ घरधुरी रहेकोमा ३ वटा पानीको धारा निर्माण गरिएको थियो । तर गाउँमा पानीको धारा छ पानी छैन । सिंगो गाउँमा नै जम्मा ५ वटा पानीको धारा भए पनि पानीको मुहान सुकेपछि सर्वसाधारणहरु पानीको लागि लामो समय खर्चदै आएका छन् । खानाका लागि तल्लो गाउँबाट पानी ल्याए पनि गाईबस्तुका लागि भने पानीको थप समस्या रहेको छ ।
विद्यालयमा पनि पानीको अभाव हुँदा विद्यार्थीहरुलाई बैशाखको चर्को गर्मिमा पानी पिउनका लागि घरमा नै जानु पर्ने समस्या छ भने विद्यालयको शौचलयमा पानीको अभावका कारण थप समस्या रहेको छ । सुख्खा समय सुरु हुनसाथ पानीको समस्या झेल्दै आएका सर्वसाधारणहरुको लागि कुनै पनि निकायबाट समस्या समाधानका लागि पहल नहुँदा वर्षौंदेखि यो समस्याबाट सर्वसाधारणहरु मुक्त हुन सकेका छैनन् ।
यसअघि त्रिपलआर संस्थाले साविक माली ७ र ८ को लागि खाने पानीको दीर्घकालीन व्यवस्था गरिदिने आशोसन दिए पनि पछि त्रिपाल आरले हात भिकेसंगै कुनैै पनि संघ संस्थाले चासो नदेखाउँदा घुन्साबासी पानीको समस्यामा वर्षैँ देखि पिरोलिंदै छन् । त्रिपालआरको ६० लाख रुपैयाँ अनुदान सहयोगमा च्योर्दुङबाट पानी ल्याउने योजना बनाइएको थियो ।
त्रिपालआरले पछि ६० लाखको २० प्रतिशत श्रमदान र १ प्रतिशत रकम स्थानीय श्रोतबाट मागेपछि स्थानीयहरुले त्रिपालआरले मागे अनुसार २० प्रतिशत श्रमदान र १ प्रतिशत अनुदान रकम उपलब्ध गराउन नक्ने बताएपछि त्रिपालआर पछी हटेको थियो । अधिकांश युवाहरु बैेदेशिक रोजगारको लागि विदेशिएकोले महिला तथा वृद्धबाट श्रमदान असम्भव भएपछि त्रिपालआरले पनि हात झिकेको राजेश नेपालीले बताए ।
नेपालीका अनुसार च्योर्दुङबाट पानीको लागि सर्भेको कामसमेत भइसकेको थियो । तर काम सुरु गर्ने समयमा स्थानीय श्रोतबाट रकम र श्रमदान जुट्न नसक्दा वर्षौंदेखिको पानीको समस्या अहिलेसम्म पनि यथावत नै रहेको छ ।
जिरी सन्देश साप्ताहिकबाट
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.