प्रधानमन्त्रीद्धारा खिम्ती-ढल्केबर प्रसारण लाइनको उद्घाटन
दोलखा, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा जिल्लाको खिम्तीस्थित खिम्ती—ढल्केबर २२० प्रसारण लाइनको उद्घाटन गरेका छन् ।
प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइनको काम पनि अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो ।’
सरकारले आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री दाहालले भने ‘म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा गएको छु ।
समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं । यसले मात्र देशको मुहार बदल्न सक्छौं ।’
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताए । शर्माले भने ‘प्रधानमन्त्रीज्यूको निर्देशनमा उज्यालो नेपाल अभियान चलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामी महत्व छ । उज्यालो नेपाल अभियान जनतामा उत्साह भर्ने अभियान हो । यो राष्ट्र निर्माणको अभियान हो, गरे सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।’
अहिलेसम्म १३२ केभी प्रसारण लाइन मात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
घिसिङले २०६२ मा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको, आयोजना सम्पन्न गर्न एक अर्ब ९५ करोड लगानी भएको तथा विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानी रहेको जानकारी गराए ।
खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाई छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.