माथिल्लो तामाकोशीको सेयर भर्न अब जिल्ला जान नपर्ने
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना प्रभावित स्थानीयले सेयरमा आवेदन दिन जिल्लामा जानु पर्ने बाध्यता हटेको छ । बिहीबार राजधानीमा सम्पन्न सर्वपक्षीय बैठकले सेयरमा आवेदन दिनका लागि काठमाडौँका पनि निश्चित स्थानहरूबाट आवेदन दिन सकिने सहमति गरेको छ । यसका लागि बोर्डबाट आधिकारिक निर्णय गरेपछि स्थान तोकिने भएको छ ।
यस्तै दोलखा जिल्लामा रहेका विभिन्न बैङ्कका २१ वटा शाखाबाट आवेदन सङ्कलन हुने भएको छ । साथै बैङ्क नभएको स्थानमा घुम्ती सङ्कलन केन्द्रको व्यवस्था गरिने जिल्लामा सांसद पशुपति चौलागाईले जानकारी दिए । जिल्लामा विकट गाउँ गाउँबाट आवेदन सङ्कलन गर्न स्वयंसेवकहरू परिचालन गरिने सहमति भएको छ ।
जिल्लाबासीलाई डिम्याट खाता अनिवार्य नभई स्वेच्छिक हुने, डिम्याट खाता खोल्न प्रोत्साहित गरिने भएको छ । तर ३ वर्ष पछि सेयर कारोबारको लागी डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितो पत्र बोर्डले सुझाव दिएको छ ।
प्रत्येक आवेदकको बैङ्क खाता अनिवार्य नगरी आवेदकले ईच्छाएको परिवारको कुनै एक सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने व्यवस्था समेत गरिने भएको छ । विदेशमा रहेको स्थानीयले आफ्नो परिवारका सदस्य मार्फत आवेदन दिन पाउने व्यवस्था गर्ने भएको छ ।
आयोजनाको बिक्री प्रबन्धक लगायत माथिल्लो तामाकोशीका प्रतिनिधिहरूको सहभागितामा साउन १६ गते दोलखाबाट सेयर प्रशिक्षण सुरु गरिने सहमति भएको छ । लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको छ ।
राजधानीमा आयोजित छलफल कार्यक्रममा नेपाल धितो पत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर क कार्की, जिल्लाका सांसद, पूर्व मन्त्री, जिल्लाका पार्टी प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोषका प्रतिनिधि तथा स्थानीय तहका प्रमुखहरू सहभागिता रहेको थियो । माथिल्लो तामाकोशीको आइपिओ स्थानीयका लागि साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.